काठमाडौं-काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल खन्याएर आत्मदाह गरेका गणेश नेपालीकी श्रीमती एकमाया नेपालीले आइतबार नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन्।
जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङको हातबाट उनलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो। चार वर्षअघि विवाह भए पनि विवाह दर्ता र नागरिकता सम्बन्धी प्रक्रिया पूरा नभएको अवस्थामा श्रीमानको निधनपछि विवाह दर्ता गरी नागरिकता जारी गरिएको जनाइएको छ।
यस घटनापछि सरकार, जिल्ला प्रशासन कार्यालय, काठमाडौं महानगरपालिका र पीडित परिवारबीच ९ बुँदे सहमति भएको छ। सहमतिसँगै परिवारले गणेश नेपालीको शव बुझ्ने भएको छ।
सहमतिअनुसार घटनाको सत्यतथ्य छानबिन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरिने, गणेश नेपालीलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने तथा घटनामा संलग्न नगर प्रहरीलाई निलम्बन गरिने उल्लेख छ।
त्यसैगरी एकमाया नेपालीलाई रोजगारीको व्यवस्था मिलाइने र उनकी छोरीको उच्च शिक्षाको सम्पूर्ण जिम्मेवारी काठमाडौं महानगरपालिकाले लिने सहमति भएको छ।
यसका साथै पीडित परिवारलाई राहत, काजकिरिया खर्च, स्वास्थ्य बिमा तथा बसोबास व्यवस्थापनसम्बन्धी आवश्यक खर्चसमेत महानगरपालिकाले व्यहोर्ने सहमति भएको छ।
सरकार र पीडित पक्षबीच भएको सहमतिसँगै घटनापछि उत्पन्न विवाद समाधानतर्फ उन्मुख भएको छ।






प्रतिक्रिया