काठमाडौं-बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिनमा काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाका स-साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ। महाशाखाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा आवतजावत गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार सोमबार बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहेको छ। कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि हाल सतर्कता तहभन्दा तल नै रहेको जनाएको छ।
तीन दिनको जलसतह तथा बाढीको पूर्वानुमानअनुसार आज (असार २९ गते) काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र आसपासका जिल्लाबाट बग्ने केही स–साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ।
यस्तै पाँचथर, इलाम, झापा, मोरङ, सप्तरी, सुनसरी, भोजपुर, सङ्खुवासभा, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लम्जुङ, तनहुँ, मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासी (पूर्व र पश्चिम), पाल्पा, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, कैलाली लगायतका जिल्लामा बग्ने स-साना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको छ। यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।
महाशाखाले असार ३० र ३१ गते पनि सातै प्रदेशका केही स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान गर्दै नदी तटीय क्षेत्रका बासिन्दा र यात्रुलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।








प्रतिक्रिया