अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारलाई रास्वपा सांसद मनिष झाको प्रश्न: यस्तो बचपनाले राजकाज चल्छ ?

सरकारलाई रास्वपा सांसद मनिष झाको प्रश्न: यस्तो बचपनाले राजकाज चल्छ ?


काठमाडौं-सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा प्रतिनिधिसभा सदस्य मनिष झाले आफ्नै पार्टी नेतृत्वको सरकारको कार्यशैलीप्रति सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै सांसद झाले काठमाडौंका विभिन्न सञ्चारगृहका कार्यालयअगाडि शंकास्पद रूपमा गाडी तेर्स्याएर अवरोध सिर्जना गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन्। सांसद झाले उक्त घटनाको निष्पक्ष अनुसन्धान गरी संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

‘सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो। यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्।

झाले राज्यको प्रमुख दायित्व नागरिकका समस्या समाधान गर्नु र उनीहरूमा सुरक्षा तथा विश्वासको वातावरण कायम गर्नु भएको उल्लेख गर्दै राज्य आफैंले नागरिकलाई त्रसित बनाउने गतिविधिमा संलग्न हुन नहुने बताएका छन्।

उनले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै लेखेका छन्, ‘राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफैं थप आतंकित बनाउने होइन। यस्तो बचपना देखाएर राजकाज चल्छ ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजी सहादत भएको हो ? यस किसिमको कामप्रति घोर आपत्ति छ।’

सांसद झाले उक्त घटनालाई लोकतान्त्रिक मूल्य-मान्यता र प्रेस स्वतन्त्रताविपरीत भएको टिप्पणी गर्दै दोषीमाथि तत्काल कारबाही हुनुपर्ने माग गरेका छन्।

सत्तारुढ दलकै सांसदबाट सरकारको कार्यशैलीमाथि सार्वजनिक रूपमा प्रश्न उठाइएपछि उक्त अभिव्यक्तिलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ। सञ्चारगृहअगाडि गाडी तेर्स्याएर अवरोध सिर्जना गरिएको घटनाबारे सरकारको औपचारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन।

Skip This