अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारको बेवास्ताविरुद्ध किसानको आक्रोश: माइतीघरमा गोलभेँडा फालेर प्रदर्शन

सरकारको बेवास्ताविरुद्ध किसानको आक्रोश: माइतीघरमा गोलभेँडा फालेर प्रदर्शन


काठमाडौं-कृषि क्षेत्रमा सरकारको उदासीनता र आयातमुखी नीतिका कारण नेपाली किसान संकटमा परेको भन्दै तरकारी किसानहरूले असार ३२ गते बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर विरोध प्रदर्शन गरेका छन्।

किसानहरूले उत्पादनको उचित मूल्य नपाउने, बजारको सुनिश्चितता नहुने र सरकारी सहयोग प्रभावकारी नहुँदा आफूहरू आर्थिक रूपमा धराशायी बन्दै गएको गुनासो गरेका छन्। उनीहरूका अनुसार ठूलो लगानी र मेहनतका साथ उत्पादन गरिएको गोलभेँडा बिक्री हुन नसक्दा लागतसमेत उठाउन कठिन भएको छ।

प्रदर्शनकारी किसानहरूले सरकारले स्वदेशी उत्पादनको संरक्षणभन्दा आयातित तरकारीलाई प्राथमिकता दिएको आरोप लगाए। सस्तो विदेशी तरकारीको निर्बाध आयातका कारण नेपाली किसान प्रतिस्पर्धामा टिक्न नसकेको र उत्पादन खेतमै कुहिन थालेको उनीहरूको भनाइ छ। सरकारको कृषि नीति किसानमैत्री हुन नसक्दा कृषिमा निर्भर हजारौं परिवार प्रभावित भएको उनीहरूले बताए।

विरोधस्वरूप किसानहरूले आफूहरूले उत्पादन गरेको गोलभेँडा सडकमा फाल्दै सरकारको ध्यानाकर्षण गराएका थिए। उनीहरूले कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य निर्धारण, उत्पादनमा अनुदान वृद्धि, मल–बीउको सहज उपलब्धता, प्रभावकारी बजार व्यवस्थापन तथा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति तत्काल लागू गर्न माग गरेका छन्।

किसानहरूले कृषि क्षेत्रलाई उपेक्षा गर्ने सरकारी प्रवृत्ति अन्त्य नभएसम्म आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउँदै लैजाने चेतावनीसमेत दिएका छन्।

Skip This