अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महिला उद्यमीका समस्या समाधानमा सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री शाह

महिला उद्यमीका समस्या समाधानमा सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री शाह


काठमाडौं-प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि आवश्यक कुनै पनि सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा असार ३२ गते बिहीबार महिला उद्यमी महासंघ नेपालका पदाधिकारीहरूसँग भएको छलफलमा उनले महिला उद्यमीहरूले भोगिरहेका सबैखाले व्यवधान हटाउन सरकार सक्रिय रहेको बताए। साथै, महिला उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूलाई देशका प्रमुख पर्यटकीय स्थलहरूमा प्रवर्द्धन गर्ने वातावरण निर्माण गरिने जानकारी दिए।

छलफलका क्रममा महासंघका प्रतिनिधिहरूले व्यवसायमैत्री वातावरण निर्माण, महिला उद्यमीका वस्तु तथा सेवाको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार विस्तार, व्यापार मेला तथा प्रदर्शनीमा सहभागिता सुनिश्चित गर्न विशेष कार्यक्रम सञ्चालन गर्न माग गरेका थिए। उनीहरूले ‘म उद्यमी’ ट्रेडमार्क ब्रान्डलाई बजारमा स्थापित गर्न सरकारको सहयोग आवश्यक रहेको बताएका थिए। उक्त प्रस्तावलाई सकारात्मक रूपमा लिँदै प्रधानमन्त्री शाहले ब्रान्डलाई शीघ्र बजारमा ल्याउन उत्प्रेरित गरेका छन्।

महासंघले आफ्नो वार्षिक अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा सरकारको संस्थागत सहकार्यको माग पनि गरेको छ। साथै, सार्वजनिक खरिद ऐन तथा नियमावलीमार्फत महिला उद्यमीलाई प्राथमिकता दिँदै सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा महिलाद्वारा उत्पादित वस्तु तथा सेवा अनिवार्य खरिद गर्ने व्यवस्था लागू गर्न आग्रह गरिएको थियो।

प्रतिनिधिहरूले वित्तीय सहुलियत वास्तविक महिला उद्योगीहरूसम्म नपुगेको गुनासो गर्दै उक्त सुविधा गाउँ–गाउँसम्म विस्तार गर्न, पुँजी अभावका कारण उद्यम रोकिन नदिन धितोको वैकल्पिक व्यवस्था गर्न र सहुलियत कार्यक्रमको दायरा बढाउन माग गरेका थिए।

महिला उद्यमीहरूको छाता संगठन महासंघलाई नीति निर्माण तह तथा सरकारी संयन्त्रहरूमा प्रतिनिधित्व गराउनुपर्ने मागसमेत उनीहरूले राखेका थिए। स्थानीय तहमा सञ्चालन हुने सीपमूलक तालिमका लागि दक्ष स्रोत व्यक्ति उपलब्ध गराउन महासंघ तयार रहेको प्रतिबद्धता पनि प्रतिनिधिहरूले व्यक्त गरेका छन्।

छलफलका क्रममा आफ्ना समस्या गम्भीरतापूर्वक सुनेर समाधानका लागि तत्काल पहल सुरु गरेको भन्दै महासंघका प्रतिनिधिहरूले प्रधानमन्त्री शाहप्रति आभार व्यक्त गरेका छन्।

Skip This