काठमाडौं-प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा महत्वपूर्ण भेटवार्ता भएको छ।
भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको पछिल्लो राजनीतिक अवस्था तथा राष्ट्रिय हितसँग सम्बन्धित विविध विषयमा छलफल भएको जनाइएको छ। पछिल्लो राजनीतिक परिस्थितिका बीच भएको उक्त भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
छलफलमा राप्रपा अध्यक्ष लिङ्देनसँगै पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ तथा केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य खुस्बु ओली पनि सहभागी हुनुहुन्थ्यो।
प्रधानमन्त्री शाह र राप्रपा नेतृत्वबीच भएको संवादलाई वर्तमान राजनीतिक अवस्था, संसद् र सरकारका गतिविधि तथा राष्ट्रिय मुद्दामा केन्द्रित छलफलका रूपमा हेरिएको छ। भेटवार्ताका विस्तृत विषयवस्तु भने सार्वजनिक गरिएको छैन।
आजै प्रधानमन्त्री शाहले नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले आज भेट गरेका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा उनीहरुबीच मुलुकको शेयर बजार, बैंकिङ तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा छलफल भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् ।







प्रतिक्रिया