काठमाडौं-आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध भई सेवा प्रदान गर्ने व्यक्तिहरूलाई अनिवार्य रूपमा स्थायी लेखा नम्बर (प्यान) लिन आग्रह गरेको छ।
विभागले जारी गरेको सूचनाअनुसार आयकर ऐन, २०५८ को दफा ७८ तथा आयकर नियमावली, २०५९ को नियम २३ बमोजिम निर्धारणयोग्य आय आर्जन गर्ने व्यक्ति, विभागले प्यान लिनुपर्ने भनी तोकेका व्यक्ति तथा भुक्तानीमा कर कट्टी हुने व्यक्तिले प्यान लिनुपर्ने व्यवस्था रहेको जनाएको छ।
सोही व्यवस्थाअनुसार राइड सेयरिङ सेवा सञ्चालन गर्ने कम्पनी (राइड सेयरिङ अपरेटर) को प्लेटफर्ममार्फत सेवा प्रदान गर्ने चालक तथा सेवा प्रदायकले पनि अनिवार्य रूपमा प्यान लिएर मात्र कारोबार गर्नुपर्ने विभागले स्पष्ट पारेको छ।
विभागले सम्बन्धित सबै सेवा प्रदायकलाई कानुनी व्यवस्था पालना गर्दै प्यान प्राप्त गरी नियमित रूपमा कारोबार सञ्चालन गर्न अनुरोध गरेको छ। कर प्रशासनलाई व्यवस्थित बनाउने तथा करदाताको दायरा विस्तार गर्ने उद्देश्यले उक्त सूचना जारी गरिएको विभागले जनाएको छ।







प्रतिक्रिया