अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मनसुनजन्य विपद्का बीच स्थानीय तहका प्रमुखलाई कार्यालयमै रहन सरकारको निर्देशन

मनसुनजन्य विपद्का बीच स्थानीय तहका प्रमुखलाई कार्यालयमै रहन सरकारको निर्देशन


काठमाडौं-मनसुनजन्य विपद्को जोखिम बढ्दै गएपछि सरकारले जिल्ला समन्वय समिति तथा सबै स्थानीय तहका प्रमुखहरूलाई कार्यालयमा अनिवार्य रूपमा उपस्थित रहन निर्देशन दिएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार जारी गरेको परिपत्रमार्फत जिल्ला समन्वय अधिकारी तथा सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई विपद् व्यवस्थापन, उद्धार, राहत, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन संवेदनशील अवधिभर कार्यालय नछाड्न निर्देशन दिएको हो।

परिपत्रमा सम्बन्धित अधिकारीहरूले नियमित रूपमा कार्यालयमा उपस्थित भई आवश्यक समन्वय, सहजीकरण तथा निर्णय प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरिएको छ। हाल बिदामा रहेका कर्मचारी तथा अधिकारीहरूलाई समेत बिदा छोट्याएर यथाशीघ्र कार्यालय फर्की जिम्मेवारी सम्हाल्न भनिएको छ।

मन्त्रालयले विपद्सम्बन्धी सूचना आदान–प्रदान, उद्धार तथा राहत कार्य, क्षतिको विवरण सङ्कलन र आवश्यक समन्वयका लागि जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, प्रदेश सरकार तथा सङ्घीय निकायसँग निरन्तर सम्पर्क र समन्वय कायम राख्न पनि निर्देशन दिएको छ।

त्यस्तै, विशेष परिस्थितिवश कार्यालय छाड्नुपर्ने अवस्था आएमा सम्बन्धित निकायबाट पूर्वस्वीकृति लिएर मात्र जिम्मेवारीको उचित व्यवस्था गरी कार्यालय छाड्नुपर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

देशका विभिन्न स्थानमा अविरल वर्षा, बाढी, पहिरो तथा अन्य मनसुनजन्य विपद्का घटना बढिरहेका बेला सरकारी निकायको तयारी सुदृढ बनाउने, द्रुत निर्णय गर्ने र नागरिकलाई प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले मन्त्रालयले उक्त निर्देशन जारी गरेको हो।

Skip This