अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

क्यानका पूर्व महानिर्देशक अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

क्यानका पूर्व महानिर्देशक अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर


काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारी, गायत्री निर्माण सेवा तथा कम्पनीका प्रमुख प्रेम प्रकाश ढकालसहित अन्य प्रतिवादीविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार अधिकारीले नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत सञ्चालन भएका विभिन्न ठेक्कामा स्वीकृति, अनुगमन तथा भुक्तानी प्रक्रियामा आफ्नो पदको दुरुपयोग गर्दै ठेक्का व्यवस्थापनमा सहजीकरण गरेबापत ठेक्का प्राप्त कम्पनी तथा तिनका सञ्चालकबाट घुस स्वरूप १ करोड ७१ लाख रुपैयाँ लिएका थिए।

अनुसन्धानका क्रममा अधिकारीले उक्त रकमको स्रोत लुकाउने उद्देश्यले श्रीमतीको नाममा ललितपुर महानगरपालिका–५ स्थित कित्ता नम्बर २२४ को ०–१३–०–० क्षेत्रफलको जग्गा खरिद गरेको अख्तियारले जनाएको छ। आयोगका अनुसार उक्त जग्गाको राजीनामा लिखतमा ९१ लाख रुपैयाँ मात्र उल्लेख गरिए पनि वास्तविक कारोबारमा घुसबाट प्राप्त १ करोड ७१ लाख रुपैयाँ प्रयोग गरिएको पाइएको छ।

अख्तियारले अधिकारीले आफ्नो तथा श्रीमतीको बैंक खातामार्फत ९१ लाख रुपैयाँको कारोबार देखाएर बाँकी रकमको वास्तविक स्रोत लुकाउने प्रयास गरेको जनाएको छ। साथै, ठेक्का प्राप्त कम्पनी तथा तिनका सञ्चालकको खाताबाट जग्गा विक्रेतालाई रकम भुक्तानी गराई भ्रष्टाचारबाट आर्जित सम्पत्तिको स्रोत लुकाउने, रूपान्तरण गर्ने र वैधानिक देखाउने उद्देश्यले सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ।

आयोगले प्रदीप अधिकारी, प्रेम प्रकाश ढकाल तथा अन्य संलग्न प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ तथा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३ बमोजिम सजायको माग गर्दै विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको जनाएको छ।

Skip This