काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लक्षित गर्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् ।
महासचिव पोखरेलले मंगलबार सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्रीको निर्णय जनताको विरोधपछि परिवर्तन भएको संकेत गर्दै ‘प्रधानमन्त्रीको गाडीमा पनि ब्रेक लाग्दो रहेछ !!’ भन्ने टिप्पणी गरेका हुन्।
महासचिव पोखरेलले जनमत र विरोधका आवाजलाई सरकारले बेवास्ता गर्न नहुने उल्लेख गर्दै ‘हो, यस्तै गरी जनताका विरोधका स्वर सुनेर सच्चिनुपर्छ। भड्किएपछि पछि फर्किनुपर्छ’ भनेका छन्।
महासचिव पोखरेलको यो अभिव्यक्ति प्रधानमन्त्री बालेनले सार्वजनिक आलोचनापछि आफ्नो निर्णय सच्याएको सन्दर्भमा आएको प्रतिक्रियाका रूपमा हेरिएको छ।
चितवनमा भएको रास्वपाको महाधिवेशनमा प्रधानमन्त्री बालेनले अहिलेको सरकार ‘एक्सप्रेस वे’मा गुडिरहेकाले गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्ने बताएका थिए।
उनले भनेका थिए, ‘ब्रेक लगाउने कुरा स-साना सडक हुन्, सरकार ‘एक्सप्रेस वे’मा गुडेको हो, गन्तव्यमा नपुगी ब्रेक लाग्दैन।’

प्रधानमन्त्री बालेन शाहले आज अपराह्न सामाजिक सञ्जालमा स्टाटस पोस्ट गर्दै निजी शिक्षा र स्वास्थ्यमा सरकारले लगाएको ३ प्रतिशत समता शुल्क लागु नगर्ने घोषणा गरेका थिए। ‘माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको छ,’ उनले भनेका थिए।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत जेठ १५ गते चालु आर्थिक वर्षका लागि संसदमा बजेट पेश गर्दै साउनदेखि निजी शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत समता कर लगाइने घोषणा गरेपछि केही आलोचना भएको थियो ।
साउन लागेसँगै निजी विद्यालय तथा कलेज र अस्पतालहरुले बिलमा ३ प्रतिशत समता कर लगाउन थालेपछि आलोचनाको पारो केही बढेको थियो ।
त्यही क्रममा सोमबार दिउँसो प्रधानमन्त्री बालेन र अर्थमन्त्री डा. वाग्लेबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा करिव १ घण्टा छलफल भयो ।






प्रतिक्रिया