अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले स्थायी कमिटी बैठक दोस्रो दिन पनि जारी

एमाले स्थायी कमिटी बैठक दोस्रो दिन पनि जारी


काठमाडौं-नेकपा (एमाले)को स्थायी कमिटीको पहिलो बैठक शुक्रबार दोस्रो दिन पनि जारी छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक केही समयअघि सुरु भएको हो।

बिहीबार सुरु भएको बैठकमा पार्टीका सांगठनिक विषयसहित चारवटा एजेन्डामाथि छलफल भएको थियो। बैठकमा वरिष्ठ नेता विद्यादेवी भण्डारीको पद तथा गोपनीयताको शपथ, संगठनसम्बन्धी प्रस्ताव, केन्द्रीय कमिटीबाट निर्णय हुन बाँकी विषय र मधेस प्रदेशसभाको समानुपातिक उम्मेदवार चयनबारे छलफल भएको थियो।

बैठकको पहिलो दिन एमालेले मङ्सिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको थियो। त्यस्तै, मङ्सिर २६ गते वडा कमिटी र पुस ४ गते पालिका कमिटीका अधिवेशन गर्ने निर्णय पनि भएको थियो।

जिल्ला अध्यक्ष पद रिक्त रहेका १३ जिल्लामा सम्बन्धित जिल्ला कमिटीबाटै अध्यक्ष चयन गरी अनुमोदनका लागि माथिल्लो कमिटीमा पठाउने निर्णयसमेत बैठकले गरेको थियो।

त्यसैगरी, मधेस प्रदेशसभाको समानुपातिकतर्फ रिक्त स्थानमा नाजमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय भएको थियो।

पहिलो दिन छलफल भएका तर निर्णय हुन बाँकी विषयमा दोस्रो दिनको बैठकमा छलफल हुने एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिएका थिए।

दोस्रो दिनको बैठकबाट पार्टीको सांगठनिक संरचना, जिम्मेवारी बाँडफाँट र केन्द्रीय कमिटीबाट टुंग्याउन बाँकी विषयमा थप निर्णय हुने अपेक्षा गरिएको छ।