अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई गृहजिल्ला फर्कन सरकारको आग्रह

होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई गृहजिल्ला फर्कन सरकारको आग्रह


काठमाडौँ-सरकारले काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई आफ्नो गृहजिल्लामा गई सम्बन्धित निकायसँग सम्पर्क गर्न आग्रह गरेको छ।

भूमि समस्या समाधान समितिले बुधबार सूचना जारी गर्दै लाभग्राहीहरूको डिजिटल विवरणका आधारमा तयार गरिएका निवेदन फाराम तथा संलग्न कागजातहरूको पीडीएफ फाइल सम्बन्धित जिल्ला समितिहरूमा पठाइसकिएको जनाएको छ। समितिले अब आवश्यक प्रक्रिया अगाडि बढाउन सम्बन्धित जिल्ला समिति र स्थानीय तहमा यथाशीघ्र सम्पर्क गर्न सबै लाभग्राहीलाई अनुरोध गरेको छ।

समितिद्वारा जारी सूचनामा भनिएको छ, ‘लाभग्राहीहरूको डिजिटल विवरणअनुसार तयार भएका निवेदन फारम र संलग्न कागजातहरू समेतको पीडीएफ फाइल तयार गरी आवश्यक कारबाही अगाडि बढाउन सम्बन्धित जिल्ला समितिमा पठाइसकिएको हुँदा सम्बन्धित जिल्ला समिति र पालिकामा यथाशीघ्र सम्पर्क गर्न जानुहुन सम्बन्धित सबैमा सूचित गरिन्छ।’

समितिले पहिलो चरणमा २९ जना सुकुम्वासीको नाम सार्वजनिक गरेको छ। उनीहरूको नाममा देशभर कतै पनि जग्गा नरहेको पुष्टि भएको जनाउँदै सरकारले उनीहरूलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडि बढाइएको जनाएको छ।

यसका लागि सम्बन्धित लाभग्राहीहरूलाई आफ्नो गृहजिल्लामा गई आवश्यक कागजी प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ।

सरकारले गत वैशाखमा काठमाडौँका विभिन्न स्थानमा रहेका सुकुम्वासी बस्ती हटाउने क्रममा डोजर चलाएको थियो। त्यसपछि प्रभावित परिवारहरूलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको थियो। हाल पनि तीमध्ये केही परिवार होल्डिङ सेन्टरमै बस्दै आएका छन्। सरकारले अब उनीहरूलाई सम्बन्धित जिल्लामै फर्केर पुनःस्थापना तथा जग्गा व्यवस्थापनसम्बन्धी प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो।

Skip This