अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बैंकिङ कसुर मुद्दामा दीपक भट्ट र अग्रवाल समूहको उच्च अदालत पाटनमा बयान सुरु

बैंकिङ कसुर मुद्दामा दीपक भट्ट र अग्रवाल समूहको उच्च अदालत पाटनमा बयान सुरु


काठमाडौँ-बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी दीपक भट्ट, शङ्करलाल अग्रवाल, सुलभ अग्रवाल र शाहिल अग्रवालको उच्च अदालत पाटनमा बयान सुरु भएको छ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासमा बिहीबार उनीहरूको बयान भइरहेको हो। इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट तथा जगदम्बा स्टिल्ससँग सम्बद्ध शङ्करलाल अग्रवाल, सुलभ अग्रवाल र शाहिल अग्रवाललाई उक्त मुद्दामा प्रतिवादी बनाइएको छ।

उनीहरूविरुद्ध गत जेठ २८ गते बैंकिङ कसुरअन्तर्गत ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो कायम गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको थियो। बैंकबाट लिएको कर्जा प्रयोजनविपरीत प्रयोग गरी दुरुपयोग गरेको अभियोगमा उच्च सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो।

अभियोगपत्रअनुसार जगदम्बा स्टिल्सले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक कच्चापदार्थ खरिद र दैनिक सञ्चालनका लागि ‘वर्किङ क्यापिटल लोन’ तथा अल्पकालीन कर्जा लिएको थियो। तर उक्त रकम दीपक भट्टको सिद्धार्थ बैंकस्थित व्यक्तिगत खातामा स्थानान्तरण गरी इन्फिनिटी होल्डिङ्समार्फत हिमालयन रि–इन्स्योरेन्सको संस्थापक सेयर खरिद गर्न तथा जग्गा खरिदका लागि बैना गर्न प्रयोग गरिएको दाबी गरिएको छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबिआई बैंक, कुमारी बैंक, एभरेष्ट बैंक र कृषि विकास बैंकलगायतबाट लिइएको कर्जा व्यक्तिगत लाभका लागि प्रयोग गरिएको भन्दै प्रतिवादीहरूमाथि बैंकिङ कसुरअन्तर्गत सजायको माग गरिएको छ।

मुद्दा दर्ता हुँदा फरार रहेका शङ्करलाल अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो। सुलभ अग्रवाल र दीपक भट्ट भने यसअघि नै पक्राउ परेर पुर्पक्षका लागि जेल चलान भइसकेका थिए।

Skip This