काठमाडौँ-अधिवक्ता तथा संविधानविद् टीकाराम भट्टराईले विचार र अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण बढ्दै जाँदा मुलुक निरङ्कुशतातर्फ उन्मुख भएको टिप्पणी गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारको वर्तमान कार्यशैलीप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले यही अवस्था कायम रहे संविधानको संरक्षण र कार्यान्वयन नै चुनौतीपूर्ण बन्न सक्ने बताए।
अधिवक्ता भट्टराईले लोकतान्त्रिक अधिकारमाथि अंकुश लगाउने प्रवृत्तिप्रति राजनीतिक दलहरू मौन बसेको भन्दै प्रश्न उठाए। विद्यार्थी युनियनमाथिको प्रतिबन्धजस्ता विषयमा समेत पर्याप्त प्रतिवाद नदेखिएको उल्लेख गर्दै उनले संविधान निर्माणमा भूमिका खेलेका राजनीतिक शक्तिहरूले जवाफ दिनुपर्ने बताए।
‘विचार र अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गरेर निरङ्कुशता लादिएको छ, तर हामी सबै मौन छौँ,’ अधिवक्ता भट्टराईले भने, ‘नेकपाका विभिन्न घटक, नेपाली कांग्रेस तथा संविधान निर्माणका पक्षधर सबै शक्तिहरूले यसबारे स्पष्ट धारणा सार्वजनिक गर्नुपर्छ।’
उनले लोकतान्त्रिक व्यवस्थामाथि चुनौती बढिरहेका बेला संविधान पक्षधर राजनीतिक शक्तिहरूबीच साझा समझदारी र सहकार्य आवश्यक रहेको बताए। संविधानको रक्षा र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि सबै राजनीतिक शक्तिहरू एक ठाउँमा उभिनुपर्ने उनको धारणा थियो।
भट्टराईले राजनीतिक दलहरूलाई सबल, सक्रिय र जनतासँग जोडिएको बनाउनुपर्ने आवश्यकता औँल्याउँदै सङ्क्रमणकालीन परिस्थितिमा बीपी कोइराला र पुष्पलाल श्रेष्ठका विचारका अनुयायीहरूबीच समेत सहकार्य र पुनर्गठनको आवश्यकता रहेको बताए।
उनले जनता कुनै एक नेता विशेषका लागि नभई लोकतान्त्रिक आन्दोलन, संविधान र राजनीतिक उपलब्धिको रक्षाका लागि सडकमा उत्रिने भएकाले नेताहरूले व्यक्ति भन्दा पार्टी र सिद्धान्तलाई प्राथमिकता दिनुपर्ने सन्देश दिन सके मात्र लोकतन्त्र बलियो बन्ने बताए।






प्रतिक्रिया