काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)लाई लक्षित गर्दै फैलाइएको ‘तीन पार्टीले देश खाए’ भन्ने भाष्यप्रति कडा आपत्ति जनाएका छन्। अध्यक्ष ओलीले ती दलहरूले देशलाई योगदान र बलिदान दिएको भन्दै उनीहरूमाथि लगाइने आरोप तथ्यहीन रहेको बताएका छन्।
पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले लोकतान्त्रिक आन्दोलन र राजनीतिक परिवर्तनका हरेक चरणमा प्रमुख दलहरूको महत्वपूर्ण भूमिका रहेको स्मरण गराए।
‘दुई/तीन पार्टीले खाए रे ! खाए भन्ने कुरा हो र ? बलिदान दिए । २००७ सालमा को थियो ? २०३२ सालमा को थियो ? २०४६ सालमा को थियो ? २०६२/६३ मा को थियो ? जेल बस्ने बेलामा को थियो ?’ ओलीले प्रश्न गरे।
अध्यक्ष ओलीले राजनीतिक परिवर्तन, लोकतन्त्र स्थापना र गणतन्त्रको आन्दोलनमा योगदान दिएका दलहरूलाई बदनाम गर्न खोजिएको आरोप लगाउँदै ‘तीन पार्टीले खाए’ भन्ने नारामार्फत गलत भाष्य स्थापित गर्ने प्रयास भइरहेको बताए।
‘दुईटाले खाए भनेर गलत भाष्य स्थापना गर्न खोजेका छन् । खुब फोटो छापेको देख्छु, तीनटाले खाए भनेर,’ अध्यक्ष ओलीले भने, ‘पार्टीहरूले देश खाएका होइनन्, लोकतन्त्र र जनअधिकारका लागि संघर्ष गर्दै बलिदान दिएका हुन्।’
अध्यक्ष ओलीले राजनीतिक दलहरूको योगदानलाई नकारेर समाजमा भ्रम फैलाउने प्रयास भइरहेको दाबी गर्दै इतिहास र आन्दोलनको वास्तविकतालाई बिर्सन नहुने बताए।






प्रतिक्रिया