अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समाचार लेखेकै कारण पत्रकार ढुंगानालाई धम्की दिएको भन्दै प्रेस चौतारी नेपालको आपत्ति

समाचार लेखेकै कारण पत्रकार ढुंगानालाई धम्की दिएको भन्दै प्रेस चौतारी नेपालको आपत्ति



काठमाडौं- प्रेस चौतारी नेपालले पत्रकार एवं संगठनका केन्द्रीय सदस्य सुमन दुंगानामाथि समाचार प्रकाशन तथा प्रसारण गरेको विषयलाई लिएर दिइएको धम्की र दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बिहीबार जारी प्रेस विज्ञप्तिमा पोखरा महानगरपालिका–३३ स्थित नेपाल सरकारको स्वामित्वमा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी सञ्चालन गरिएको भनिएको ‘सेती रिभर साइड रिसोर्ट’ सम्बन्धी समाचार सम्प्रेषण गरेकै कारण पत्रकार दुंगानामाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा–३३ का वडा सभापति दिनेश आचार्यले आपत्तिजनक सन्देश पठाई धम्की दिएको उल्लेख गरिएको छ।
प्रेस चौतारीले सार्वजनिक सरोकारको विषयमा समाचार लेख्ने पत्रकारलाई धम्की दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर आक्रमण भएको ठहर गरेको छ। विज्ञप्तिमा पत्रकारलाई त्रसित बनाउने, धम्क्याउने तथा प्रेसको मुख थुन्न खोज्ने गतिविधिको कडा भर्त्सना गर्दै घटनाको तत्काल छानबिन गरी दोषीलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ।
पत्रकारमाथिको धम्की र दुर्व्यवहार तत्काल नरोकिए तथा दोषीमाथि कारबाही नभए प्रेस चौतारी नेपाल सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ। त्यस्तो अवस्थाबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी सम्बन्धित व्यक्ति, निकाय र सरकारले लिनुपर्ने प्रेस चौतारी नेपालको भनाइ छ।

Skip This