अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चिकित्सकमाथि आक्रमण र स्वास्थ्य सेवा बन्दप्रति मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण

चिकित्सकमाथि आक्रमण र स्वास्थ्य सेवा बन्दप्रति मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण


काठमाडौं-राष्ट्रिय मानव अधिकार आयोगले चिकित्सकमाथि भएको कुटपिट तथा अस्पतालमा भएको तोडफोडको घटनाको विरोधमा देशभर नियमित स्वास्थ्य सेवा बन्द गरिँदा नागरिकको स्वास्थ्य अधिकार प्रभावित भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नारायणी अस्पताल वीरगञ्जका चिकित्सक डा. प्रमोद राममाथि कुटपिट तथा अस्पतालमा तोडफोड भएको घटनापछि चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले बुधबार देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गरेका छन्। आयोगका सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार आयोगले घटनाबारे स्थलगत अनुगमनसमेत गरेको छ।

आयोगले जारी गरेको विज्ञप्तिमा स्वास्थ्य सेवामा निरन्तर खटिने चिकित्सकमाथि कुटपिट र अस्पतालमा तोडफोड हुनु निन्दनीय कार्य भएको उल्लेख गर्दै यस्ता गतिविधिले अराजकतालाई प्रश्रय दिनुका साथै कानुनको शासनमाथि चुनौती खडा गर्ने जनाएको छ।

साथै, उक्त घटनाको विरोधस्वरूप अस्पतालहरूमा आकस्मिक बाहेकका सेवा बन्द गरिँदा बिरामीहरू उपचारबाट वञ्चित भएको आयोगको ठहर छ। स्वास्थ्य सेवा जस्तो अत्यावश्यक सेवा बन्द गर्नु नेपालको संविधानको धारा ३५ अन्तर्गतको स्वास्थ्यसम्बन्धी मौलिक हक, उपभोक्ताको अधिकार तथा प्रचलित कानुनविपरीत हुने आयोगले जनाएको छ।

आयोगले स्वास्थ्य सेवा अवरुद्ध हुँदा आमनागरिकको स्वास्थ्यसम्बन्धी अधिकार कुण्ठित हुन गएको उल्लेख गर्दै चिकित्सकको सुरक्षा सुनिश्चित गर्दै नागरिकलाई निर्बाध स्वास्थ्य सेवा उपलब्ध गराउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

Skip This