चितवन-मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत मुग्लिन नजिक खहरे पुल क्षेत्रमा मंगलबार एकै दिन तीन पटकसम्म पहिरो खसेपछि जिल्ला प्रशासन कार्यालय चितवनले रातिको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।
मुग्लिन बजार नजिक नारायणगढतर्फको सडकमा लगातार पहिरो खस्दा दिनभर पटक–पटक सवारी आवागमन अवरुद्ध भएको थियो। सडक अवरुद्ध हुँदा सयौं यात्रु घण्टौंसम्म अलपत्र परेका थिए भने यात्रुले निकै सास्ती र हैरानी व्यहोर्नुपरेको थियो।
पहिरो खस्ने जोखिम अझै कायम रहेको र रातिको समयमा यात्रा गर्दा मानवीय दुर्घटनाको सम्भावना बढ्न सक्ने भएकाले जिल्ला प्रशासन कार्यालय चितवनले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै २०८३ साउन १२ गते बेलुका ८ बजेदेखि १३ गते बिहान ५ बजेसम्म मुग्लिन–नारायणगढ सडकखण्डमा सबै प्रकारका सवारी साधनको आवागमन बन्द गरिएको जनाएको छ।
प्रशासनले अत्यावश्यक बाहेकका यात्रु तथा सवारी चालकलाई उक्त अवधिमा यात्रा नगर्न तथा वैकल्पिक व्यवस्था अपनाउन अनुरोध गरेको छ। साथै यात्रुहरूलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै थप सूचना, समन्वय तथा सहजीकरणका लागि नेपाल प्रहरी (१००), सशस्त्र प्रहरी बल (११४४) र जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (DEOC–१२३४) मा सम्पर्क गर्न आग्रह गरेको छ।
हेर्नुहोस् सूचना







प्रतिक्रिया