काठमाडौं-सुनसरीको देवानगञ्ज नगरपालिकामा फेरि दुई समूहबीच झडप भएको छ। मंगलबार साँझ देवानगञ्ज–३ स्थित देवानगञ्ज बजार क्षेत्रमा दुई पक्षबीच ढुङ्गा हानाहान भएपछि केही समय तनावपूर्ण अवस्था सिर्जना भएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार प्रहरीको सक्रियता र संयमतापूर्ण हस्तक्षेपपछि अवस्था नियन्त्रणमा आएको छ। उनले घटनापछि सुरक्षा व्यवस्था थप कडा पारिएको र अहिले स्थिति सामान्य बन्दै गएको जानकारी दिए।
आइतबार रातिदेखि अशान्त बनेको देवानगञ्ज क्षेत्रमा मंगलबार साँझ पुनः झडप भएपछि स्थानीयवासीमा त्रास फैलिएको थियो। प्रहरीले सम्भावित थप अप्रिय घटना हुन नदिन प्रभावित क्षेत्रमा निगरानी बढाएको जनाएको छ।
यसअघि सुनसरीको देवानगञ्ज–३ स्थित कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपमा ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। उक्त घटनापछि क्षेत्रको सुरक्षा अवस्था संवेदनशील बनेको छ।
ओमप्रकाश मेहताको मृत्यु भएको घटनाबारे गृह मन्त्रालयले छानबिन समिति गठन गरी अनुसन्धान अघि बढाइरहेको छ। प्रहरीले पछिल्लो घटनाबारे पनि आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।






प्रतिक्रिया