विराटनगर-सुनसरीमा भएको घटनापछि उत्पन्न असामान्य परिस्थितिका विषयमा छलफल गर्न कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार सर्वदलीय बैठक आह्वान गरेका छन्।
प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रकुमार पौडेलका अनुसार बैठक आज दिउँसो १२:३० बजे आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बस्नेछ। बैठकमा सुरक्षा निकायका प्रतिनिधि, सुनसरीका प्रदेशसभा सदस्य तथा विभिन्न राजनीतिक दलका प्रदेशस्तरीय नेताहरू सहभागी हुनेछन्।
बैठकमा प्रदेशको शान्ति-सुरक्षा अवस्था, सामाजिक सद्भाव कायम राख्ने उपाय तथा प्रदेश सरकारको उपस्थितिलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने बताइएको छ।
यसअघि मुख्यमन्त्री कार्कीले भिडियो सन्देशमार्फत आम नागरिकलाई संयमित रहन तथा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका थिए। घटनापछि उनले सुरक्षा निकायसँग निरन्तर समन्वय गरिरहेका छन्।
यसैबीच, प्रदेश सरकारका मन्त्रीहरू र सचिवहरूले अस्पताल पुगेर घटनामा घाइते भएका व्यक्तिहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। प्रदेश सरकारले परिस्थितिलाई सामान्य बनाउन आवश्यक पहललाई तीव्रता दिएको जनाएको छ।


प्रतिक्रिया