सिरहा-सिरहाको गोलबजार क्षेत्रमा सुरक्षा संवेदनशीलता बढेपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
जिल्लाको सुरक्षा अवस्थाको मूल्याङ्कन गर्दै प्रशासनले गोलबजार नगरपालिकाको निश्चित क्षेत्रमा बिहीबार दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु लागू गरेको जनाएको हो। जिल्ला प्रशासन कार्यालय सिरहाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरेको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार पूर्व-पश्चिम राजमार्गअन्तर्गत गोलबजार नगरपालिका-३ को कसहा खोलादेखि पश्चिम चोहर्वा चोकसम्म, उत्तरतर्फ वडा-६ को सैनिक चोकदेखि दक्षिणतर्फ वडा-४ स्थित क्याम्पस आसपासको क्षेत्रमा कर्फ्यु लागू गरिएको छ।
प्रशासनले कर्फ्यु अवधिमा तोकिएको क्षेत्रभित्र आवतजावत तथा कुनै पनि प्रकारका गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। आदेश उल्लंघन गर्ने व्यक्ति वा समूहलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।
जिल्ला प्रशासन कार्यालयले शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्न सबै नागरिकलाई सहयोग गर्न अनुरोध गरेको छ।



प्रतिक्रिया