जनकपुरधाम-सुनसरीको कप्तानगञ्जमा भएको गोलीकाण्डको विरोधमा धनुषाको जनकपुरधाममा प्रदर्शन चर्किँदै गएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालयले बिहीबार दिउँसो ३ः३० बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी गरेको जनाएको छ। प्रशासनका अनुसार पछिल्लो समय सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि शान्ति–सुरक्षा कायम राख्न कर्फ्यू लगाइएको हो।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जनकपुरधाम उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र, लक्ष्मीनिया गाउँपालिका तथा नगराइन नगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश लागू गरिएको जानकारी दिए।
प्रशासनले कर्फ्यू अवधिमा अत्यावश्यक सेवाबाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ। सुरक्षा निकायलाई समेत उच्च सतर्कतामा राखिएको जनाइएको छ। पछिल्लो अवस्थालाई मध्यनजर गर्दै थप सुरक्षा व्यवस्था कडा पारिएको प्रशासनले जनाएको छ।
यसअघि सिरहाको गोलबजारमा जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो।
जिल्लाको सुरक्षा अवस्थाको मूल्याङ्कन गर्दै प्रशासनले गोलबजार नगरपालिकाको निश्चित क्षेत्रमा बिहीबार दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु लागू गरेको छ।


प्रतिक्रिया