सुनसरी-सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा गत आइतबार भएको गोलीकाण्डमा घाइते भएका अर्का एक युवाको पनि मृत्यु भएको छ। उपचाररत २७ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा बिहीबार दिउँसो मृत्यु भएको हो।
अस्पताल प्रशासनका भारत श्रेष्ठका अनुसार पेटमा गोली लागेर गम्भीर घाइते भएका मेहताको उपचारका क्रममा मृत्यु भएको हो। उनको सोमबार शल्यक्रिया गरिएको थियो। अवस्था गम्भीर बनेपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो। मृत्यु भएपछि अस्पताल परिसरमा सुरक्षा सतर्कता बढाइएको छ भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। जयप्रकाशको शव हाल न्युरो अस्पतालमै राखिएको छ।
यसअघि सोही घटनामा गोली लागेर गम्भीर घाइते भएका देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको उपचारका लागि अस्पताल पुर्याइएलगत्तै आइतबार राति १०ः४० बजे मृत्यु भएको थियो। उनको शव पनि अझै अस्पतालमै रहेको प्रहरीले जनाएको छ।
कप्तानगन्जमा दुई पक्षबीच भएको विवाद आइतबार राति हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। उक्त घटनामा गोली लागेर १० जना युवा घाइते भएका थिए। जयप्रकाश र ओमप्रकाशको मृत्यु भएसँगै घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ भने अन्य आठ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि सुनसरीसहित आसपासका जिल्लामा विरोध प्रदर्शन चर्किएको छ। सुरक्षा निकायले स्थिति नियन्त्रणमा लिन उच्च सतर्कता अपनाएको जनाएको छ।


प्रतिक्रिया