सिरहा-सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनाको प्रभाव सिरहामा पनि देखिन थालेको छ। बिहीबार दिउँसो उक्त घटनाको विरोधमा सिरहाको लहान बजार क्षेत्रमा प्रदर्शन भएपछि अवस्था तनावग्रस्त बनेको हो।
प्रदर्शनका क्रममा दुई पक्षबीच झडप हुने अवस्था सिर्जना भएपछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेका छन्। जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार भीड नियन्त्रणका लागि केही राउन्ड हवाई फायर गर्नुपरेको थियो।
तनाव बढेसँगै लहान बजार क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको व्यापक परिचालन गरिएको छ। सुरक्षा अवस्थाको समीक्षा गर्दै प्रशासनले लहान क्षेत्रमा पनि कर्फ्यु आदेश जारी गर्ने तयारी गरेको जनाएको छ।
यसअघि सिरहाको गोलबजार क्षेत्रमा बिहीबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको थियो। कप्तानगञ्ज घटनापछि सिरहाका विभिन्न स्थानमा प्रदर्शन र तनाव बढ्न थालेपछि प्रशासन उच्च सतर्कतामा रहेको जनाएको छ।


प्रतिक्रिया