सुनसरी- सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते भएको घटनामा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच गएराति ७ बुँदे सम्झौता भएको छ।
सम्झौताअनुसार सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
यस्तै, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाही प्रक्रिया तत्काल अघि बढाइने सहमति भएको छ। प्रत्येक मृतकका परिवारबाट एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने तथा गठित छानबिन समितिको प्रतिवेदनमा समेटिएका सुझाव र सिफारिसहरू कानुनबमोजिम यथाशीघ्र कार्यान्वयन गर्ने सहमति पनि भएको छ।
त्यसैगरी, दुवै मृतकको सम्झनामा स्थानीय सरकारसँग समन्वय गरी गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने उल्लेख सम्झौतामा गरिएको छ।
सम्झौतामा मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताका अभिभावकको तर्फबाट हस्ताक्षर गरिएको छ भने गृह मन्त्रालयका तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन्।सम्झौताअनुसार मृतकहरूको अन्तिम संस्कार आज दिउँसो २ बजे गरिने उल्लेख गरिएको छ।



प्रतिक्रिया