काठमाडौं-सिरहाको गोलबजार क्षेत्रको अवस्था शुक्रवार बिहानदेखि अवस्था सामान्य बन्दै गएको छ । यद्यपि, गोलबजार–लहान क्षेत्रमा जारी गरिएको कर्फ्यु भने अर्को सूचना नभएसम्म यथावत रहने प्रशासनले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्गमा बिहानदेखि सवारीसाधन र सर्वसाधारणको चहलपहल न्यून देखिएको छ । राजमार्ग तथा संवेदनशील स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा व्यवस्था कडा बनाएका छन् । नेपाली सेनाले गोलबजारका विभिन्न गाउँबाट मुख्य सडकमा निस्कने बाटो तथा गल्लीहरूमा समेत निगरानी बढाएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पुरानो चौक चोहर्वादेखि गोलबजारको गागन खोलासम्म सुरक्षाकर्मी परिचालन गरिएको छ । कर्फ्युको पालना गराउन सुरक्षाकर्मीले सडकमा भेटिएका नागरिकलाई आवश्यकबाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै फर्काइरहेका छन् भने अत्यावश्यक काममा हिँडेकाहरूलाई सोधपुछपछि गन्तव्यतर्फ जान दिएका छन् ।
कर्फ्यु लागू नभएको सिरहाको कसहा क्षेत्रमा भने केही प्रदर्शनकारी पुनः पूर्व–पश्चिम राजमार्गमा उत्रिएका छन् । उनीहरूले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।


प्रतिक्रिया