सिरहा-सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको मृत्यु प्रकरणलाई लिएर स्थानीयवासीले प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङविरुद्ध विरोध प्रदर्शन गरेका छन्।
सुनसरी घटनाको विरोधमा बिहीबार सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर गणेश यादवको मृत्यु भएको थियो। मृतकका परिवार र छिमेकीसँग भेटघाट गर्न गृहमन्त्री गुरुङ आउने तयारी रहेको खबर सार्वजनिक भएपछि स्थानीयवासीले बनिनिया चोकमा प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीहरूले गणेश यादवलाई न्याय नपाउञ्जेल गृहमन्त्रीलाई गाउँमा प्रवेश गर्न नदिने चेतावनी दिएका छन्। उनीहरूले हातमा विभिन्न प्लेकार्ड बोकेर सरकारविरुद्ध नाराबाजी गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई न्याय दिन माग गरेका छन्।
प्रहरीको गोली प्रहारबाट १५ वर्षीय बालकको ज्यान गएको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्। प्रदर्शनका क्रममा सुरक्षा व्यवस्था कडा पारिएको छ भने घटनाप्रति स्थानीय तहदेखि राजनीतिक वृत्तसम्म चासो बढेको छ।


प्रतिक्रिया