झापा-झापामा प्रहरीले आवश्यक कागजात बिना सञ्चालन भइरहेका अटो रिक्सा तथा सिटी सफारीमाथि व्यापक कारबाही गरेको छ। जिल्ला प्रहरी कार्यालय झापा र ट्राफिक प्रहरीको संयुक्त टोलीले सञ्चालन गरेको विशेष चेकजाँच अभियानमा १६८ वटा सवारी साधन कारबाहीमा परेका हुन्।
प्रहरीका अनुसार चालकहरूले सवारी चालक अनुमतिपत्र (लाइसेन्स), बिलबुक र सवारी बिमा बिना नै सवारी साधन सञ्चालन गरिरहेको भन्दै सर्वसाधारणबाट गुनासो आएपछि जिल्लाका विभिन्न स्थानमा संयुक्त अनुगमन गरिएको थियो।
विशेष चेकजाँचका क्रममा २८५ वटा सिटी सफारी र ७३ वटा अटो रिक्सा गरी कुल ३५८ वटा सवारी साधनको अनुगमन गरिएको थियो। जसमध्ये आवश्यक कागजात नबोकेका १६८ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर कानुनबमोजिम कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
उक्त कारबाहीबाट दुई लाख १० हजार रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ। साथै, तत्काल आवश्यक कागजात पेश गर्न नसकेका २७ वटा सवारी साधनलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी नियन्त्रणमै राखिएको छ।
सवारी नियमको प्रभावकारी कार्यान्वयन तथा दुर्घटना न्यूनीकरणका लागि यस्ता अनुगमन अभियानलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।


प्रतिक्रिया