अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनीमा नयाँ सत्ता समीकरण: मन्त्रालय बाँडफाँडमा एमाले-नेकपाको छलफल तीव्र

लुम्बिनीमा नयाँ सत्ता समीकरण: मन्त्रालय बाँडफाँडमा एमाले-नेकपाको छलफल तीव्र


दाङ-नेकपा (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच बनेको नयाँ सत्ता समीकरणअनुसार लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनको तयारी तीव्र पारिएको छ। दुवै दलबीच मन्त्रालय बाँडफाँड, मन्त्रीहरूको जिम्मेवारी तथा सरकारको साझा कार्ययोजनाबारे छलफल भइरहेको छ।

मुख्यमन्त्री चेतनारायण आचार्यलाई नै निरन्तरता दिने सहमति भइसकेको छ भने आगामी सोमबारसम्म मन्त्रिपरिषद् पुनर्गठन गरी सरकारलाई पूर्णता दिने तयारी गरिएको छ। केन्द्रमा एमाले र नेकपाबीच सत्ता सहकार्यको सहमति भएपछि लुम्बिनी प्रदेशमा पनि एमाले नेतृत्वमै सरकार सञ्चालन गर्ने समझदारी बनेको हो।

यसअघि नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्री बनेका आचार्यलाई कांग्रेसले समर्थन फिर्ता लिएपछि नयाँ सत्ता समीकरणअनुसार सरकार पुनर्गठनको प्रक्रिया अघि बढेको हो। मुख्यमन्त्री परिवर्तन हुने चर्चा चले पनि एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, मुख्यमन्त्री आचार्य र पूर्वमुख्यमन्त्री लीला गिरीबीच भएको छलफलले आचार्यलाई नै निरन्तरता दिने निर्णय गरेको हो।

मुख्यमन्त्री आचार्यले आठ मन्त्रालयको हालको संरचनाअनुसार सत्ता साझेदार दलहरूबीच जिम्मेवारी बाँडफाँडबारे छलफल भइरहेको जानकारी दिँदै सोमबारसम्म सरकारलाई पूर्णता दिने तयारी रहेको बताए।

उता नेकपाका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री जोखबहादुर महराले पनि एमालेसँग मन्त्रालय बाँडफाँड र साझा कार्ययोजनाबारे छलफल भइरहेको बताए। उनले दुवै दलबीच सहमति जुटेपछि नेकपाले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाउने जानकारी दिए।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा हाल ८३ सदस्य छन्। सरकार गठनका लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ। एमालेका २९ र नेकपाका १३ सांसद गरी गठबन्धनसँग ४२ सांसदको समर्थन रहे पनि सरकारमा सहभागी जनता समाजवादी पार्टीका दुई सांसदको समर्थन प्राप्त हुने भएकाले बहुमत पुग्ने र सरकार गठनमा कुनै समस्या नहुने महराको भनाइ छ।