काठमाडौं-पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ ।
प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिका–५ स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने पर्सा वीरगञ्ज महानगरपालिका–२० घर भएका ६ वर्षीय संगित खानको मृत्यु भएको छ ।
शनिबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल बाँसबारीमा थप उपचारको क्रममा गएराति मृत्यु भएको हो । प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गरिरहेको छ ।
यस्तै, मोरङको विराटनगर महानगरपालिका–१४ स्थित सडकमा विराटनगरबाट रानीतर्फ जाँदै गरेको बीआर ३८ वाई ७५६६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–१४ ओमसायराम टोल बस्ने ६० वर्षीया लिलादेवी साहको मृत्यु भएको छ ।
शनिबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल विराटनगरमा थप उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । साथै, दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको विराट टिचिङ हस्पिटल विराटनगरमा उपचार भइरहेको छ ।
ललितपुरको गोदावरी नगरपालिका–६ टिकाभैरवस्थित सडकमा प्र.३–०२–०११ प ३४५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक काठमाडौं कपन बस्ने धनुषा घर भएका ४३ वर्षीय उत्तम लामाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको अनन्द वन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै, दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको केएमसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी, रूपन्देहीको सिद्धार्थ नगरपालिका–१ मानसरोबर होटल अगाडि सडकमा भैरहवाबाट सुनौलीतर्फ जाँदै गरेको युपि ५३ इटि ६८३४ नम्बरको टेलरको ठक्करबाट पैदलयात्री हाल नाम, थर र वतन नखुलेकी ५० वर्षीया महिलाको शनिबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको मेडिकल कलेज भैरहवामा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार टेलर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस्तै, नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–२ हरपुरस्थित सडकमा युपि ५७ बिपि ४१६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक भारत कोसिनगर गाउँ रामकोल बस्ने २५ वर्षीय विजय चौहानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिद्धार्थ सिटी अस्पताल भैरहवामा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै, दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटास्थित सडकमा लु.प्र.०१–००१ च २०५४ नम्बरको स्कारपियोले लु–१४ प ५१९० नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका–२ हल्लानगर बस्ने १८ वर्षीय शिखर विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै, दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि बुटवल रिफर गरिएको छ । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–८ सेतोपुलस्थित सडकमा से.६ प ९७६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका–६ बस्ने २८ वर्षीया सम्झना चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै, दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
महोत्तरीको बर्दिबास नगरपालिका–३ काँडेभोगटेस्थित सडकमा बर्दिबासबाट भिमानतर्फ जाँदै गरेको म.प्र.०२–००७ प १९०९ नम्बरको मोटरसाइकल आइतबार बिहान दुर्घटना हुँदा चालक धनुषा घर भएका ३२ वर्षीय विनयकुमार साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जनसेवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै, दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया