अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बसले ठक्कर दिँदा कार सुनकोशी नदीमा खस्यो

बसले ठक्कर दिँदा कार सुनकोशी नदीमा खस्यो


सिन्धुली-सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा बसको ठक्करबाट एउटा कार सुनकोशी नदीमा खसेको छ। सोमबार दिउँसो भएको दुर्घटनापछि कार नदीमा बेपत्ता भएको छ भने त्यसमा सवार यात्रुको अवस्था अझै खुल्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी रवीन्द्रबहादुर सिंहका अनुसार काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख ०१४४ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको नम्बर नखुलेको कारलाई ठक्कर दिएको थियो। ठक्करपछि कार सडकबाट करिब ५० देखि ६० मिटर तल सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनापछि नदीमा खसेको कार हालसम्म फेला परेको छैन। कारमा कति जना सवार थिए भन्ने यकिन हुन नसकेको भए पनि प्रारम्भिक रूपमा केही व्यक्ति सवार रहेको आशंका गरिएको छ।

घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा परिचालन गरिएको छ। नदीमा खसेको कार तथा सम्भावित यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।