अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१० प्रतिशत निःशुल्क उपचार सुनिश्चित गर्न अस्पतालका फोकल पर्सन तोकिए

१० प्रतिशत निःशुल्क उपचार सुनिश्चित गर्न अस्पतालका फोकल पर्सन तोकिए


काठमाडौं-स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी रूपमा कार्यान्वयन गर्न देशभरका सेवाप्रदायक अस्पताल तथा जिम्मेवार सम्पर्क व्यक्तिको विवरण सार्वजनिक गरेको छ।

मन्त्रालयले सोमबार सार्वजनिक गरेको सूचीमा सङ्घीय, प्रादेशिक, सामुदायिक, शिक्षण तथा निजी अस्पतालहरू समेटिएका छन्। निःशुल्क शय्या सेवामा बिरामीको पहुँच सुनिश्चित गर्न तथा सेवासम्बन्धी गुनासो आएमा तत्काल समन्वय गर्न प्रत्येक अस्पतालका सम्पर्क अधिकारी तोकिएको मन्त्रालयले जनाएको छ।

सार्वजनिक गरिएको विवरणमा अस्पतालका फोकल पर्सनको नाम र फोन नम्बर उल्लेख गरिएको छ। यसबाट निःशुल्क उपचार सेवा प्राप्त गर्न समस्या परेका बिरामी तथा सेवाग्राहीले सम्बन्धित अधिकारीसँग सिधै सम्पर्क गरी जानकारी लिन, समन्वय गर्न तथा गुनासो दर्ता गर्न सक्ने व्यवस्था गरिएको मन्त्रालयको भनाइ छ।

मन्त्रालयका अनुसार कार्यविधिले सुनिश्चित गरेको १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवालाई व्यवहारमै कार्यान्वयन गराउन निगरानी, अनुगमन र समन्वयलाई थप प्रभावकारी बनाइएको हो।

यसअघि मन्त्रालयले निःशुल्क शय्या व्यवस्थापनका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याइसकेको छ। साथै, सेवाप्रदायक अस्पतालहरूले आरक्षित शय्याको विवरण नियमित रूपमा अद्यावधिक गर्नुपर्ने व्यवस्था समेत लागू गरिएको छ।

मन्त्रालयले सेवाग्राहीलाई सार्वजनिक गरिएको सम्पर्क विवरणको उपयोग गरी निःशुल्क उपचारसम्बन्धी जानकारी लिन, सेवा प्राप्तिमा देखिएका समस्या समाधानका लागि समन्वय गर्न तथा आवश्यक परे गुनासो गर्न आग्रह गरेको छ।