काठमाडौँ-केही दिनदेखि जारी अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गमा बाढी र पहिरो जाँदा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार काठमाडौँ उपत्यका, कोशी र बागमती प्रदेशका विभिन्न स्थानमा सडक पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।
काठमाडौँ उपत्यकाबाट बाहिरिने महत्वपूर्ण वैकल्पिक मार्गहरू समेत प्रभावित बनेका छन्। ललितपुरको बागमती गाउँपालिका-३ पाण्डुरमा पहिरो खस्दा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, काठमाडौँको नागार्जुन नगरपालिका-८ ठुलो खोलामा पहिरो जाँदा सितापाइला–धार्के सडकखण्डमा पनि सवारी आवागमन ठप्प भएको प्रहरीले जनाएको छ।
कोशी प्रदेशमा पनि वर्षाका कारण सडक सञ्जाल प्रभावित बनेको छ। भोजपुर नगरपालिका–५ बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ भने वैकल्पिक मार्गको व्यवस्था गरिएको छ। इलाम नगरपालिका–९ राजदुवालीमा पहिरो खस्दा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त क्षेत्रमा पनि वैकल्पिक मार्ग प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ।
बागमती प्रदेशमा सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै केही राजमार्गमा निश्चित समयका लागि सवारी सञ्चालनमा रोक लगाइएको छ। बी.पी. राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने मौसम र सडकको अवस्थाका आधारमा सवारी सञ्चालन गरिने जनाइएको छ।
त्यसैगरी, कान्तिलोकपथको हेटौँडा–ठिङ्गन–ललितपुर खण्डमा पनि बाढी र पहिरोको जोखिमका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द गरिएको छ।
यसैबीच, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलो र वडा नं. २ कोदारी क्षेत्रमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
नेपाल प्रहरीले यात्रा गर्नुअघि सम्बन्धित सडकको पछिल्लो अवस्था बुझ्न, सम्भावित जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न तथा यात्रा गर्नै परे उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।



प्रतिक्रिया