अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अविरल वर्षाले देशभरका मुख्य राजमार्ग प्रभावित, पहिरो र बाढीले यातायात सेवा अवरुद्ध

अविरल वर्षाले देशभरका मुख्य राजमार्ग प्रभावित, पहिरो र बाढीले यातायात सेवा अवरुद्ध


काठमाडौँ-अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग र सडक खण्डहरूमा पहिरो तथा बाढी जाँदा यातायात सेवा प्रभावित भएको छ।

नेपाल प्रहरीको  बिहान ६:२० बजेसम्मको तथ्याङ्कअनुसार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग, मुस्ताङको बेनी-जोमसोम सडक र रुकुम पश्चिमको भेरी कोरिडोर पूर्ण रूपमा अवरुद्ध रहेका छन्।

सिन्धुपाल्चोकको चारकिलो र कोदारीमा पहिरो खसेका कारण अरनिको राजमार्ग ठप्प भएको हो भने मुस्ताङको थासाङमा पहिरोले सडक रोकेको छ। त्यस्तै, रसुवाको त्रिशूली-मैलुङ-स्याफ्रुबेशी सडक र दोलखाको लामासाँगु-रमेछाप राजमार्गमा पनि बाढीका कारण सवारी आवतजावत पूर्ण रूपमा बन्द छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै काभ्रेको बीपी राजमार्ग र मकवानपुरको कान्ति लोकपथमा रातको समयमा सवारी चलाउन रोक लगाइएको छ। बीपी राजमार्गको खुर्कोट-नेपालथोक खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म र कान्ति लोकपथको हेटौँडा-ठिङ्गन खण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

उता काठमाडौँको सितापाइला-धार्के सडक, भोजपुरको मध्य पहाडी लोकमार्ग, बागलुङको कालीगण्डकी कोरिडोर र मनाङको चामे-बेसीसहर सडकमा भने पहिरो पन्छाएर यातायात एकतर्फी सुचारु गरिएको छ। 

प्रहरीले वर्षाको समयमा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।