काठमाडौँ-अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग छलफल गर्ने भएका छन्। अर्थ मन्त्रालयको सुवर्ण हलमा बिहान ९:१५ बजेदेखि छलफल सुरु हुने कार्यक्रम छ।
मन्त्री वाग्लेको सचिवालयका अनुसार देशको वित्तीय अवस्थाको यथार्थ बुझ्न र अर्थतन्त्रका विद्यमान समस्या समाधानका उपाय पहिल्याउन यो बैठक बोलाइएको हो। मौद्रिक उपकरणको प्रत्यक्ष कार्यान्वयन गरिरहेका केन्द्रीय बैंकका १८ जना कार्यकारी निर्देशकसँग मन्त्री स्तरमा यसरी संयुक्त छलफल हुन लागेको सम्भवतः यो पहिलोपटक हो।
केन्द्रीय बैंकका गभर्नर र डेपुटी गभर्नरसँगको नियमित समन्वय र सल्लाहकै आधारमा यो छलफल तय गरिएको सचिवालयले जनाएको छ।
यसअघि अर्थमन्त्री वाग्लेले साउन १२ गते उद्योगी–व्यवसायीहरूसँग छलफल गरेका थिए भने मंगलबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँग पनि छलफल गरेका थिए। ती छलफलमा उद्योगी र बैंकरहरूले मुख्यतः मौद्रिक नीतिसँग सम्बन्धित विषय उठाएका थिए।
यद्यपि, उद्योगी र बैंकरहरूसँग भएका अघिल्ला छलफलहरूमा राष्ट्र बैंकको तर्फबाट प्रतिनिधित्व रहेको थिएन। त्यसैले, क्षेत्रगत समस्याहरू बुझेपछि अर्थमन्त्री वाग्लेले आज सिधै राष्ट्र बैंकका नीति कार्यान्वयनकर्ताहरूसँग परामर्श गर्न लागेका हुन्।


प्रतिक्रिया