हेटौंडा-त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-२ तिलटारमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गएराति पालुङबाट वीरगञ्जतर्फ तरकारी बोकेर जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ५०९५ नम्बरको ६ चक्के डिब्बा ट्रक वर्षा र बाक्लो हुस्सुका कारण ओरालो सडकमा चिप्लिएर अनियन्त्रित हुँदा सडकबाट करिब १०० मिटर तल चण्डी खोलामा खसेको थियो।
दुर्घटनामा ट्रकमा सवार राक्सिराङ गाउँपालिका–९ का ३६ वर्षीय अर्जुन कार्की गम्भीर घाइते भएका थिए। उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा उपचारका लागि हेटौंडा अस्पताल ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
दुर्घटनामा ट्रक चालक राक्सिराङ गाउँपालिका–९ का २३ वर्षीय रञ्जित कार्की घाइते भएका छन्। उनको दायाँ खुट्टा भाँचिएको छ भने शरीरका विभिन्न भागमा चोट लागेको छ। हाल उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृतक अर्जुन कार्की चालक रञ्जित कार्कीका काका नाता पर्ने हुन्। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।


प्रतिक्रिया