अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्षा र पहिरोका कारण प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडक पूर्ण र आंशिक रूपमा अवरुद्ध

वर्षा र पहिरोका कारण प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडक पूर्ण र आंशिक रूपमा अवरुद्ध


काठमाडौँ-केही दिनदेखि जारी अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्डहरूमा बाढी र पहिरो जाँदा यातायात सेवा गम्भीर रूपमा प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार देशका धेरै स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडक एकतर्फी सञ्चालनमा रहेका छन्।

आज बिहान चितवनको इच्छाकामना गाउँपालिका-५ मा पहिरो खसेपछि पृथ्वी राजमार्ग बिहान ५:३५ बजेदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी क्षेत्रअन्तर्गत चारकिलो, कोदारी र लिपिङमा पहिरो खस्दा अरनिको राजमार्ग पनि बन्द रहेको प्रहरीले जनाएको छ।

कान्ति लोकपथ अन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३ पाण्डुर र मकवानपुरको ठिंगन क्षेत्रमा पहिरोका कारण यातायात ठप्प भएको छ। मकवानपुर खण्डमा रातिको समयमा सवारी सञ्चालनमा समेत रोक लगाइएको छ।

अविरल वर्षाकै कारण इलामको राजदुवाली क्षेत्रमा मेची राजमार्ग अवरुद्ध भएको छ भने सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै वि.पि. राजमार्ग अन्तर्गत काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा हरेक दिन साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।

पूर्वी रुकुमको भुमे गाउँपालिकामा पहिरोका कारण मध्य पहाडी लोकमार्ग अवरुद्ध भएको छ। त्यसैगरी बागलुङको बेलबगर र पाल्पाको निस्दी क्षेत्रमा पहिरो तथा बाढीले कालीगण्डकी कोरिडोर बन्द भएको छ।

कर्णाली प्रदेशका विभिन्न सडक पनि प्रभावित भएका छन्। रुकुम पश्चिमको भेरी कोरिडोर, मुगुको नाग्म–गमगढी सडक तथा जुम्लाको नाग्म सडक खण्ड बाढी र पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध हुँदा सवारी सञ्चालन हुन सकेको छैन।

यता, केही सडकमा भने एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको छ। काठमाडौँको नागार्जुन–८ स्थित सितापाइला–धार्के सडक खण्डको ठुलो खोलामा पहिरो पन्छाएपछि एकतर्फी सवारी सञ्चालन गरिएको छ। मनाङको चामे–बेँसिशहर सडक तथा मुस्ताङको बेनी–जोमसोम सडकका केही स्थानमा पनि एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ। भोजपुरको बोखिम क्षेत्रमा पर्ने मध्य पहाडी लोकमार्ग पनि एकतर्फी रूपमा खुला गरिएको प्रहरीले जनाएको छ।

यसैबीच, रसुवाको त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी सडक र दोलखाको लामासाँघु–रामेछाप सडक बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेका छन्। दोलखामा वैकल्पिक मार्ग सञ्चालनमा ल्याउने प्रयास भइरहेको सम्बन्धित निकायले जनाएको छ।

नेपाल प्रहरीले लगातारको वर्षाका कारण सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले लामो दूरीको यात्रा गर्नुअघि नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आधिकारिक सूचना तथा ट्राफिक बुलेटिनबाट सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।