ललितपुर-ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा.२ ख ३५९० नम्बरको बस ग्वार्कोस्थित फ्लाई ओभर पुलको पर्खालमा ठोक्किएपछि दुर्घटना भएको हो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै प्रहरी वृत्त सातदोबाटोका डीएसपी वकिल सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेको थियो। दुर्घटनामा घाइते भएका १० जनालाई उपचारका लागि बीएण्डबी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया