अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नारायणी नदीमा बाढीको जोखिम बढ्यो, प्रहरीले गर्‍यो माइकिङ

नारायणी नदीमा बाढीको जोखिम बढ्यो, प्रहरीले गर्‍यो माइकिङ


चितवन-मुहान क्षेत्रमा लगातार भइरहेको वर्षाका कारण नारायणी नदीको जलसतह सतर्कता तह पार गरेको छ। नदीमा बहाव बढ्दै गएपछि चितवनका तटीय क्षेत्रमा प्रहरीले माइकिङ गर्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हाे।

चितवन तथा आसपासका क्षेत्रमा हाल उल्लेख्य वर्षा नभए पनि नारायणी नदीको माथिल्लो तटीय क्षेत्रमा परेको भारी वर्षाका कारण नदीको बहाव एक्कासि बढेको हो। बाढी पूर्वानुमान महाशाखाले नारायणी नदीमा बाढीको जोखिम रहेको जनाउँदै २०८३ साउन २३ गतेसम्म नदीको जलसतह थप बढ्न सक्ने प्रक्षेपण गरेको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवन तथा सुरक्षा निकायले नदी आसपासका बासिन्दालाई सचेत रहन अनुरोध गरेका छन्। वडा प्रहरी कार्यालय नारायणगढ र जिल्ला प्रहरी कार्यालय चितवनका सुरक्षाकर्मी बुधबार बिहानदेखि तटीय क्षेत्रमा परिचालित भई माइकिङमार्फत जनचेतना फैलाइरहेका छन्।

प्रहरीले नदी किनारमा नजान, अनावश्यक आवतजावत नगर्न तथा आवश्यक परे सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ। नदी किनारमा सञ्चालन भइरहेका ठेला तथा अन्य अस्थायी व्यवसायहरूलाई समेत सुरक्षित स्थानमा सारिएको जनाइएको छ।

नदीको जलसतह अझै बढ्न सक्ने अनुमान रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ। साथै, बाढीसम्बन्धी आधिकारिक सूचना तथा सुरक्षा निकायका निर्देशनहरूको पालना गर्न पनि अनुरोध गरिएको छ।