अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतीय अवरोधले रोकियो तटबन्ध, सुस्ता जोगाउन आफैँ मैदानमा उत्रिए गाउँले

भारतीय अवरोधले रोकियो तटबन्ध, सुस्ता जोगाउन आफैँ मैदानमा उत्रिए गाउँले


रुपन्देही-पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय पक्षको अवरोधका कारण पक्की तटबन्ध निर्माण कार्य रोकिएपछि स्थानीय बासिन्दा आफैँ जुटेर अस्थायी तटबन्ध निर्माण गर्न थालेका छन्। वर्षासँगै नारायणी नदीको बहाव बढ्दै जाँदा बस्ती डुबान र कटानको उच्च जोखिममा परेपछि गाउँ जोगाउन सुस्ताबासी जनश्रमदानसहित मैदानमा उत्रिएका हुन्।

राज्यको उपस्थिति कमजोर भएको र पक्की तटबन्ध निर्माणमा ढिलाइ भएपछि स्थानीयले आफ्नै स्रोतसाधन, मेसिन तथा जनश्रमदान परिचालन गरेर अस्थायी संरचना निर्माणलाई तीव्रता दिएका छन्। सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालका अनुसार पक्की तटबन्ध निर्माणका लागि ठेक्का प्रक्रिया पूरा भए पनि भारतीय पक्षको अवरोधका कारण काम अघि बढ्न नसकेको हो।

‘भारतीय पक्षको अवरोधले ठेक्का भइसकेको कामसमेत रोकिएको छ। अहिले नदी सीधै बस्तीमा पस्ने खतरा बढेको छ। त्यसैले हामी आफ्नै स्रोत, साधन, मेसिन र जनश्रमदानमार्फत अस्थायी तटबन्ध बनाएर गाउँ जोगाउने प्रयास गरिरहेका छौँ। स्थानीयको सामूहिक शक्तिले नै यो सम्भव बनाउने विश्वास छ,’ जयसवालले भने।

स्थानीयका अनुसार भेलडारको रुख र सिमल क्षेत्रतर्फ विस्तार गर्नुपर्ने तटबन्ध निर्माणमा भारतीय पक्षले लामो समयदेखि अवरोध गर्दै आएको छ। सोही संवेदनशील क्षेत्रमा नदीको बहाव बस्तीतर्फ मोडिने जोखिम बढेपछि अहिले सुस्ताका युवा, वृद्ध तथा महिलासमेत दैनिक रूपमा श्रमदानमा खटिएका छन्। उनीहरूले आफ्नै खर्चमा एस्काभेटर प्रयोग गर्नुका साथै बाँस, रुखका हाँगा, नायलन क्रेट तथा बालुवा–गिट्टी भरिएका बोरा प्रयोग गरेर नदीको बहाव नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्।

केही दिनअघि हतियारधारी भारतीय सुरक्षाकर्मीले स्थानीयले बनाएको अस्थायी तटबन्ध भत्काइदिएको आरोप स्थानीयले लगाएका छन्। सो क्रममा भएको प्रतिकारमा केही नेपाली घाइतेसमेत भएका थिए। उक्त घटनापछि स्थानीय झन् संगठित भएर तटबन्ध निर्माणमा जुटेका छन्।

लगातारको वर्षासँगै नारायणी नदीको जलसतह बढ्दै जाँदा कटानको गति तीव्र बनेको छ। यसले सुस्तावासीमा त्रास बढाएको छ। स्थानीयको पहलमा भइरहेको अस्थायी तटबन्ध निर्माणले तत्काल केही राहत पुग्ने अपेक्षा गरिए पनि दीर्घकालीन समाधान भने पक्की तटबन्ध नै भएको उनीहरूको भनाइ छ।

‘बोरामा बालुवा भरेर र मेसिन चलाएर भए पनि गाउँ बचाउने प्रयास गरिरहेका छौँ। तर सरकारले उच्च तहबाट कूटनीतिक पहल गरी रोकिएको पक्की तटबन्ध निर्माण कार्य अघि बढाउनुपर्छ,’ एक स्थानीयले भने।

स्थानीयले नदीको बहाव अझ बढेमा ठूलो धनजनको क्षति हुन सक्ने चेतावनी दिँदै नेपाल सरकार, गृह मन्त्रालय तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भारतीय पक्षसँग तत्काल कूटनीतिक पहल गरी रोकिएको पक्की तटबन्ध निर्माण कार्य सुचारु गर्न माग गरेका छन्।