अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माछापुच्छ्रे बैंकमार्फत करदाता उपहार कार्यक्रममा सहभागी हुन सकिने

माछापुच्छ्रे बैंकमार्फत करदाता उपहार कार्यक्रममा सहभागी हुन सकिने


काठमाडौं-माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा सञ्चालन भइरहेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’लाई योगदान पुर्‍याउने उद्देश्यका साथ एमबीएल एम-स्मार्ट मोबाइल बैकिङ एपमा ‘बिल जितौँ’ सुविधा सञ्चालनमा ल्याएको छ।

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेटअनुसार आन्तरिक राजस्व विभागले बिल लिने संस्कृतिको विकास, डिजिटल भुक्तानीलाई प्रोत्साहन तथा कर प्रणालीलाई थप पारदर्शी बनाउने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गरेको हो । यस कार्यक्रमअन्तर्गत योग्य उपभोक्ताहरूले नियमित लक्की ड्रमार्फत नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन् ।

नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि १०० रुपैयाँभन्दा बढी मूल्यका वस्तु वा सेवा खरिद गरी बैंकको मोबाइल बैंकिङ एपमार्फत बैंक वा वालेटको मर्चेन्ट क्यूआरमा डिजिटल भुक्तानी गर्ने ग्राहकका योग्य कारोबारहरू स्वतः आन्तरिक राजस्व विभागको प्रणालीमा समावेश हुने भएकोले यसका लागि छुट्टै दर्ता गर्नुपर्ने आवश्यकता पर्दैन ।

माछापुच्छ्रे बैंकका ग्राहकहरूले एमबीएल एम–स्मार्ट एपमा लग–इन गरी बिल जितौँ मेनुमा प्रवेश गरेपछि आन्तरिक राजस्व विभाग उपहार कार्यक्रमका लागि योग्य भएका कुल कारोबार संख्या, योग्य कारोबारहरूको विस्तृत विवरण तथा उपहार विजेता भएको अवस्थामा सम्बन्धित जानकारी एकै स्थानबाट सहज रूपमा हेर्न सक्नेछन् ।

आन्तरिक राजस्व विभागले कार्यक्रमअन्तर्गत योग्य कारोबारहरूबाट नियमित रूपमा लक्की ड्र सञ्चालन गर्दै प्रत्येक दिन एक जना विजेतालाई कर कट्टीपश्चात १ लाख रुपैयाँ तथा प्रत्येक १५ दिनमा एक जना बम्पर विजेतालाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको छ ।

यस अवसरमा माछापुच्छ्रे बैंकले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई १०० रुपैयाँभन्दा बढीको प्रत्येक खरिदमा मचेन्ट क्यूआरमार्फत डिजिटल भुक्तानी गर्न, अनिवार्य रूपमा प्यान/भ्याट बिल लिन, बिल सुरक्षित राख्न तथा एमबीएल एम–स्मार्टको बिल जितौँ मेनुमार्फत आफ्नो योग्य कारोबार नियमित रूपमा जाँच गर्न अपिल गरेको छ ।

माछापुच्छ्रे बैंकले डिजिटल बैंकिङलाई थप सहज, सुरक्षित तथा ग्राहकमैत्री बनाउँदै सरकारी डिजिटल भुक्तानी तथा कर सचेतना अभियानमा सहकार्य गर्न निरन्तर प्रतिबद्ध रहेको जानकारी गराएको छ ।