काठमाडौं-कोशी प्रदेशमा नयाँ सरकार गठन तथा सत्ता साझेदारीका विषयमा नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच औपचारिक छलफल सुरु भएको छ।
साउन २२ गते शुक्रबार विराटनगरस्थित मुख्यमन्त्री निवासमा दुई दलका शीर्ष नेताहरूबीच भएको बैठकमा मन्त्रालय बाँडफाँट, सरकारको साझा न्यूनतम कार्यक्रम, बजेट पुनरावलोकन तथा प्रदेश सरकार सञ्चालनका विविध विषयमा छलफल सुरु सुरु गरेको हो।
बैठकमा एमालेका तर्फबाट मुख्यमन्त्री हिक्मत कार्की, एमाले सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई, प्रदेश सचिव राजकुमार भण्डारी सहभागी थिए भने नेकपाका तर्फबाट संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, पूर्वमुख्यमन्त्री तथा प्रदेश इन्चार्ज राजेन्द्र राई र प्रदेश अध्यक्ष हर्क नेम्वाङ (मिक्सो) सहभागी थिए।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा संसदीय दलका नेता आङ्बोले केन्द्रमा बनेको नयाँ राजनीतिक समीकरणअनुसार प्रदेशमा सरकार सञ्चालनका विषयमा सकारात्मक छलफल भएको बताए। उनले साझा न्यूनतम कार्यक्रम, बजेट पुनरावलोकन, मन्त्रालयको संख्या तथा सरकारको कार्यदिशाका विषयमा प्रारम्भिक सहमति खोजिएको जानकारी दिए।
‘अहिले पहिलो चरणको छलफल भएको हो। अर्को बैठकमा सबै विषयलाई प्याकेजमै टुंग्याउने गरी आ–आफ्नो दलभित्र छलफल गरेर आउने सहमति भएको छ,’ आङ्बोले भने। उनका अनुसार अबको सरकार दुई दलको साझा न्यूनतम कार्यक्रमका आधारमा परिणाममुखी ढंगले अघि बढ्नेछ।
नेकपा प्रदेश अध्यक्ष हर्क नेम्वाङले नयाँ सरकारसम्बन्धी पहिलो औपचारिक बैठकमा आगामी सरकारका प्राथमिकता र एजेन्डाबारे केन्द्रित भएर छलफल भएको बताए।
२०८३ साउन ९ गते एमाले र नेकपाबीच प्रदेश सरकार सञ्चालनका सम्बन्धमा तीनबुँदे सहमति भएको थियो।


प्रतिक्रिया