विराटनगर-कोशी प्रदेश सरकारले कोशी प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, कलवलगुरी (झापा) को कार्यकारी निर्देशकमा अनिता गुरागाईंलाई नियुक्त गरेको छ।
शुक्रबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले गुरागाईंलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। नियुक्तिपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उनलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। गुरागाईं सुनसरीको इटहरी उपमहानगरपालिका-४ निवासी हुन्।
मन्त्रिपरिषद् बैठकले स्थानीय सरकारी सेवा गठन तथा सञ्चालन नियमावलीको मस्यौदामा प्रदेश लोक सेवा आयोगको परामर्श माग्ने निर्णय पनि गरेको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपका अनुसार नियमावली निर्माणको प्रक्रिया जारी रहेकाले आयोगको आवश्यक परामर्श लिने निर्णय गरिएको हो।
यस्तै, मोरङको सुन्दरहरैँचा नगरपालिकाको प्रशासकीय भवनको केन्द्र स्थानान्तरण गर्न पनि मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ। हाल वडा नं. १२ मा रहेको नगरपालिकाको प्रशासकीय केन्द्रलाई वडा नं. ८ मा सार्ने नगरसभाको सिफारिसलाई सरकारले अनुमोदन गरेको हो। साबिक मृगौलिया–९ तथा हालको सुन्दरहरैँचा–८ मा नयाँ प्रशासकीय भवन स्थापना गर्न सहमति प्रदान गरिएको मन्त्री लिङ्थेपले जानकारी दिए।
त्यसैगरी, प्रदेश मन्त्रिपरिषद्ले प्रदेश युवा परिषद्सम्बन्धी विधेयक तर्जुमा गर्न आवश्यक अवधारणापत्रमा सैद्धान्तिक सहमति जनाएको छ। साथै, वृद्धिमुखी कार्यान्वयन कार्यविधि र रोजगार प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि–२०८२ खारेज गर्ने निर्णय पनि बैठकले गरेको छ।
प्रदेश सरकारले गरेका यी निर्णयहरू प्रशासनिक संरचना सुदृढीकरण, स्थानीय सेवा व्यवस्थापन तथा युवा नीति निर्माणलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ अघि बढाइएको जनाएको छ।


प्रतिक्रिया