काठमाडौं-वर्षा, पहिरो र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् ।
प्रहरी प्रधानकार्यालयले आज बिहान ७ बजेसम्म अवरुद्ध रहेका सडकको विवरणअनुसार तेह्रथुमको मध्यपहाडी लोकमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक, मुगुको नाग्म–गमगढी सडक, रुकुम पश्चिमको भेरी करिडोर र सोलुखुम्बुको सल्लेरी–लुक्ला सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ ।
काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ देखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
बिहान ४ देखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन हुने व्यवस्था मिलाइएको छ । कान्ति लोकपथमा पनि वर्षायामका कारण बेलुका ५ देखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ राजदुवालीमा वर्षाका कारण सडक हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त क्षेत्रमा वैकल्पिक मार्ग भने सञ्चालनमा छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत जिरोकिलो, कोदारी र लिपिङ क्षेत्रमा पहिरो र सडक भासिएपछि अरनिको राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध छन् । लामासाँघु–रामेछाप सडकखण्डको दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारमा सामाकोशी खोलाले सडक कटान गरेपछि यातायात अवरुद्ध भएको छ । यद्यपि, खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ ।
यसैगरी, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ निलदोर्जे पर्यटक सडकखण्डअन्तर्गत सल्लेरी–लुक्ला सडक र तेह्रथुमको लालीगुराँस नगरपालिका–९ काडे पिङवाखोला नजिक मध्यपहाडी लोकमार्ग पहिरोले अवरुद्ध भएको छ ।
प्रहरीले वर्षायाममा पहिरो, बाढी र सडक कटानको जोखिम कायमै रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।


प्रतिक्रिया