काठमाडौं-कञ्चनपुरका पत्रकार खेम भण्डारी एक महिनापछि जेलमुक्त भएका छन्। अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ परेका भण्डारीले एक महिना कैद सजाय भुक्तान गरेपछि शुक्रबार जेलमुक्त भएका हुन्।
भीमदत्त नगरपालिका-१८ कटानबाट भण्डारीलाई गत असार १८ गते प्रहरीले पक्राउ गरेको थियो। उनलाई निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणसँग सम्बन्धित गाली बेइज्जती मुद्दामा अदालतले गरेको फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको थियो।
कञ्चनपुर जिल्ला अदालतले २०८२ जेठ १ गते भण्डारीलाई गाली बेइज्जतीको कसुरमा दोषी ठहर गर्दै एक महिना कैद सजाय सुनाएको थियो । जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले उक्त फैसला गरेको थियो ।
निर्मला पन्त प्रकरणमा आफूलाई तथ्यहीन रूपमा जोडेर समाचार प्रकाशित गरेको आरोप लगाउँदै कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्टका छोरा किरण विष्टले भण्डारीविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए । मुद्दा दायर गर्ने किरण विष्ट पनि पत्रकार हुन् । उनी राष्ट्रिय समाचार समितिमा कार्यरत छन् ।
निर्मला पन्त २०७५ साउन १० गते साथीको घरमा पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन् । उनी भोलिपल्ट भीमदत्त नगरपालिका क्षेत्रमा पर्ने निम्बुखेडा खोला किनारको उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् ।
पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान लामो समयदेखि जारी रहे पनि घटनाका मुख्य आरोपी अहिलेसम्म पहिचान हुन सकेका छैनन् ।


प्रतिक्रिया