अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘कालो चस्मा’देखि ‘अँध्यारो सहर’सम्म: बालेन सरकारमाथि बोहोराको कटाक्ष ?

‘कालो चस्मा’देखि ‘अँध्यारो सहर’सम्म: बालेन सरकारमाथि बोहोराको कटाक्ष ?


काठमाडौं-सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेनिकट सांसद दीपक बोहोराका पछिल्ला सामाजिक सञ्जाल पोस्टले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारप्रति पार्टीभित्रै असन्तुष्टि बढ्दै गएको संकेत गरेको छ।

सांसद बोहोराले पछिल्ला दुई दिन लगातार सामाजिक सञ्जालमार्फत सरकारका कामकारबाहीप्रति अप्रत्यक्ष रूपमा कटाक्ष गरेका छन्।

साउन २३ गते शनिबार सांसद बोहोराले कालो चस्मा खोलेको तस्वीर सार्वजनिक गर्दै- ‘मैले त कालो चस्मा खोलेँ है ! सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए। संसद्मा प्रधानमन्त्री शाहले लगाउने कालो चस्मालाई लिएर सांसद तथा सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भइरहेका बेला रास्वपाका सांसद बोहोराको उक्त पोस्ट गरेपछि त्यसलाई धेरैले प्रधानमन्त्री शाहप्रति गरिएको व्यंग्यका रूपमा व्याख्या गरेका छन्।

त्यसको भोलिपल्ट अर्थात् २०८३ साउन २४ गते आइतबार साँझ बत्ती गएपछिको अँध्यारो सहरको भिडियो बोहोराले सामाजिक सञ्जालमा पोस्ट गरे। भिडियोसँगै उनले साँझको ७:३० बजे ! बत्ती गएपछिको अँध्यारो सहर !’ लेखेका थिए। पछिल्लो समय विद्युत् आपूर्तिमा देखिएको समस्याप्रति उनको उक्त पोस्ट लक्षित रहेको बुझिएको छ।

सांसद बोहोराले प्रत्यक्ष रूपमा सरकार वा प्रधानमन्त्रीको आलोचना नगरे पनि उनका लगातारका पोस्टले सरकारको कार्यशैलीप्रति सत्तारुढ दलभित्रै असन्तुष्टि बढिरहेको संकेत गरेको देखिन्छ।

यसअघि साउन २२ गते शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपाकै केही सांसदले सरकारका कामकारबाही र प्रधानमन्त्री शाहको कार्यशैलीप्रति प्रश्न उठाएका थिए। त्यसपछि सोही रात प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत आफू एक्लो भएको महसुस गरेको संकेत गरेका थिए।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको भोलिपल्ट रास्वपा सांसद मनिष झाले सामाजिक सञ्जालमार्फत सरकारमा कोही पनि एक्लो नभएको बताएका थिए। उनले सरकारमा सुधार गर्नुपर्ने केही पक्ष रहेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने धारणा राखेका थिए।

लगातार पार्टीकै सांसदहरूबाट सरकारको कार्यशैलीप्रति प्रश्न उठ्नु र नेताहरूका सामाजिक सञ्जाल पोस्टमार्फत अप्रत्यक्ष असन्तुष्टि सार्वजनिक हुनुले प्रधानमन्त्री शाह नेतृत्वको सरकारमाथि सत्तारुढ दलभित्रै दबाब बढ्दै गएको संकेत गरेको छ।