काठमाडौं-कोलम्बियामा सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १३२ पुगेको छ। भूकम्पमा ५७० जनाभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
भूकम्पका कारण ठूलो संख्यामा भवन भत्किएका छन् भने भग्नावशेषमा अझै मानिसहरू फसेको आशंका गरिएको छ। उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।
कोलम्बियाको भूगर्भ सेवाका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ७ः३४ बजे ७.४ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पको केन्द्रबिन्दु चोको प्रान्तको सान होसे डेल पालमार आसपास रहेको बताइएको छ।
भूकम्पको धक्का पश्चिमी कोलम्बियाका विभिन्न क्षेत्रमा सयौँ किलोमिटर टाढासम्म महसुस गरिएको थियो। राजधानी बोगोटासहित कैली, पेरेरा, मानिजालेस र क्विब्दो लगायतका क्षेत्रमा पनि भूकम्पको प्रभाव परेको छ।
कफी उत्पादनका लागि प्रसिद्ध पेरेरा सहर र आसपासका क्षेत्र भूकम्पबाट निकै प्रभावित भएका छन्। प्रारम्भिक विवरणअनुसार पेरेरामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। दर्जनौँ भवन भत्किएका छन् भने केही भवनमा मानिस फसेको आशंका गरिएको छ।
चोको प्रान्तको दुर्गम क्षेत्र भएकाले सञ्चार तथा यातायातमा समेत समस्या देखिएको छ। यसका कारण प्रभावित क्षेत्रको क्षतिको पूर्ण विवरण संकलन गर्न कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन्।
भूकम्पपछि कोलम्बिया सरकारले राष्ट्रिय आपत्कालीन अवस्था घोषणा गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक स्रोत परिचालन गरेको छ। सुरक्षा निकाय, उद्धार टोली र स्वास्थ्यकर्मीहरू प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।
उद्धारकर्मीहरूले भग्नावशेष हटाउँदै मानिसहरूको खोजी गरिरहेका छन्। घाइतेहरूको उपचार तथा विस्थापितलाई अस्थायी आश्रय उपलब्ध गराउने कामसमेत अघि बढाइएको छ। शक्तिशाली भूकम्पपछि परकम्पको जोखिम रहेकाले प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।




प्रतिक्रिया