अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विश्वासको मत नपाउने भएपछि सुदूरपश्चिमका मुख्यमन्त्री शाहले राजीनामा दिँदै

विश्वासको मत नपाउने भएपछि सुदूरपश्चिमका मुख्यमन्त्री शाहले राजीनामा दिँदै


धनगढी-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिने भएका छन्। प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नदेखिएपछि मुख्यमन्त्री शाहले राजीनामा दिने तयारी गरेका हुन्।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार डम्बरबहादुर बमका अनुसार शाहले बिहीबार प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन्। एमालेले गत असार ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो। विश्वासको मत लिनुपर्ने संवैधानिक समयसीमा पनि बिहीबार पूरा हुँदैछ।

सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ। तर, वर्तमान राजनीतिक समीकरणमा मुख्यमन्त्री शाहले आवश्यक बहुमत जुटाउने सम्भावना कमजोर बनेको छ।

एमालेले समर्थन फिर्ता लिएपछि सरकार जोगाउन मुख्यमन्त्री शाहले विभिन्न राजनीतिक विकल्पबारे छलफल गरे पनि केन्द्रमा एमाले र नेकपाबीच नयाँ सत्ता समीकरण बनेपछि उनको सरकार टिक्ने सम्भावना समाप्त भएको हो।

मुख्यमन्त्री शाहको राजीनामासँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ। एमाले र नेकपाबीच भएको सहमतिअनुसार अब नेकपाको नेतृत्वमा प्रदेश सरकार गठन हुने तयारी छ। स्रोतका अनुसार नेकपाका खगराज भट्ट नयाँ मुख्यमन्त्री बन्ने सम्भावना छ।

यससँगै कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारको नेतृत्व परिवर्तन हुने भएको छ। नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले संविधानअनुसार प्रक्रिया अघि बढाउनेछन्।