अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनीमा सरकार गठनका लागि एमाले, नेकपा र मसालबीच दुई बुँदे सहमति

लुम्बिनीमा सरकार गठनका लागि एमाले, नेकपा र मसालबीच दुई बुँदे सहमति


काठमाडौं-लुम्बिनी प्रदेश सरकार गठन तथा विकास निर्माणका कार्यमा सहकार्य गर्ने विषयमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेपाल कम्युनिस्ट पार्टी (मसाल) बीच सहमति गरेको छ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहबीच २०८३ साउन २७ गते बुधबार २ बुँदे सहमति गरेको हाे।  

तीन दलका शीर्ष नेताबीच भएको छलफलपछि जारी सहमतिपत्रमा लुम्बिनी प्रदेश सरकार गठन र प्रदेशको विकास निर्माणका काममा सहकार्य गर्ने उल्लेख गरिएको छ। त्यस्तै राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रको पक्षमा तथा प्रतिगमनविरुद्धका आन्दोलनमा संयुक्त रूपमा सहकार्य गर्ने सहमति पनि गरिएको छ।

यसअघि प्रदेश सरकारको नेतृत्व र सत्ता साझेदारीका विषयमा एमाले र नेकपाबीच तीनबुँदे सहमति भएको थियो। उक्त सहमति कार्यान्वयनका लागि थप पाँचबुँदे समझदारी समेत गरिएको बताइएको छ। सहमतिअनुसार लुम्बिनी प्रदेशको मुख्यमन्त्री एमालेकै नेतृत्वमा निरन्तर रहनेछ। लुम्बिनीमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री छन्।

आचार्य नेतृत्वको सरकारलाई बहुमत पुर्‍याउन १ सांसद आवश्यक पर्ने भएपछि नेकपा (मसाल) सँग सहमति गरिएको हो। लुम्बिनीमा नेकपा (मसाल)का १ जना सांसद छन्।

८३ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार गठनका लागि ४२ सांसदको समर्थन आवश्यक पर्छ। एमालेसँग २९ र नेकपाका सभामुखसहित १३ सांसद छन् । भामुख बराबर भएका खण्डमा बाहेक मतदान गर्न नपाउने भएकाले सरकारलाई बहुमत जुटाउन थप १ सांसदको साथ चाहिन्छ। 

मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ १ गते प्रदेश सभामा विश्वास मत लिने तयारीसमेत गरेका छन्।