अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्यूठानमा माडी खोलाको किनारमा पाँच शव फेला

प्यूठानमा माडी खोलाको किनारमा पाँच शव फेला


प्यूठान-प्यूठानको स्वर्गद्वारी नगरपालिका–९, जुडापाटस्थित माडी खोलाको किनारमा आज पाँच वटा शव फेला परेका छन्। प्रहरीले ती शव रोल्पाको थबाङ गाउँपालिका-५, बोटलबारा क्षेत्रमा गएराति पहिरोमा परी बेपत्ता भएकाहरूको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डीएसपी नरहरि अधिकारीले माडी खोलाको किनारमा पाँच वटा शव फेला परेको पुष्टि गरेका छन्। उनका अनुसार प्यूठानमा मानिस हराएको वा पहिरोमा परी बेपत्ता भएको कुनै घटना नभएकाले माथिल्लो क्षेत्र रोल्पाबाट बाढीले शव बगाएर ल्याएको हुन सक्ने देखिएको छ।

‘यहाँ मानिस हराएको वा पहिरो गएको छैन। त्यसकारण माथि रोल्पाबाट पहिरोमा परेकाहरूका शव बगेर यहाँ आएको हुन सक्ने अनुमान गरेका छौँ,’ डीएसपी अधिकारीले बताए।

प्रहरीले फेला परेका शवका तस्वीर रोल्पा प्रहरीलाई पठाएको छ। तस्वीरका आधारमा शवको पहिचान हुन सक्ने प्रहरीले जनाएको छ।

यता, जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले पनि थबाङमा पहिरोमा परी बेपत्ता भएकाहरूका शव प्यूठानमा भेटिएको हुन सक्ने सम्भावना रहेको बताएका छन्।

उनका अनुसार रोल्पाको लुंगी खोला माडी खोलामा मिसिने भएकाले पहिरो र बाढीका कारण मानिस तथा शव बगाएर प्यूठानसम्म ल्याएको हुन सक्ने सम्भावना छ। ‘लुंगी खोला माडीमै मिसिन्छ । त्यसैले गएराति पहिरोले बगाएर बेपत्ता भएकाहरूका शव प्यूठानमा भेटिएको हुन सक्ने सम्भावना धेरै छ । यसबारे थप अनुसन्धान भइरहेको छ,’ उनले भने।

रोल्पाको थबाङ गाउँपालिका-५, बोटलबारा क्षेत्रमा पहिरोले घर तथा गोठ पुरिँदा तीन जनाको मृत्यु भएको र दुई जना गम्भीर घाइते भएको प्रहरीले पुष्टि गरेको छ। उक्त घटनामा नौ जना बेपत्ता रहेको जनाइएको छ।

प्यूठानमा फेला परेका पाँच शव रोल्पाको पहिरोमा बेपत्ता भएका नौ जनामध्येका हुन् वा होइनन् भन्नेबारे प्रहरीले पहिचान तथा थप अनुसन्धान गरिरहेको जनाएको छ।